Skip to main content

Nuwakot Sewa Society UAE

मिति १० भदौ २०८३ गते चीनको तिब्बत क्षेत्रमा आएको भीषण बाढीका कारण भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति नुवाकोट सेवा समाज, यूएई गहिरो दुःख एवं चिन्ता व्यक्त गर्दछ।

यस विनाशकारी प्राकृतिक विपत्तिमा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताहरूको सकुशल उद्धार, विस्थापितहरूको सुरक्षित व्यवस्थापन तथा प्रभावित क्षेत्रमा तत्काल आवश्यक राहत पुग्न सकोस् भन्ने कामना गर्दछौँ।

विपत्तिको पीडा भौगोलिक सीमाभित्र मात्र सीमित हुँदैन। आफ्नै देश, आफ्नै माटो र आफ्नै समुदायका मानिसहरू संकटमा पर्दा हामी विदेशमा रहे पनि त्यसको पीडा हाम्रो मनसम्म आइपुग्छ। विशेषगरी नुवाकोटसहित रसुवा र धादिङ क्षेत्रमा परेको यस विपत्तिले हामीलाई अझ गहिरो रूपमा छोएको छ।

यही मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको तत्काल उद्धार, राहत तथा सहयोगमा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले नुवाकोट सेवा समाज, यूएईको तर्फबाट रु. १,८७,४४४.४०/- (एक लाख सतासी हजार चार सय चवालीस रुपैयाँ चालीस पैसा) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अल अन्सारी एक्सचेन्जमार्फत नेपाल पठाइएको जानकारी गराउँदछौँ।

यो सहयोग रकम हाम्रो क्षमताअनुसार गरिएको सानो आर्थिक योगदान हो। तर यसको पछाडि रहेको भावना ठूलो छ। यो केवल आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको मानवीय दायित्व, आत्मीयता, सद्भाव र ऐक्यबद्धताको एउटा प्रयास हो।

विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै गरिएको यस सहयोगले विपत्तिबाट प्रभावित परिवारहरूको तत्कालीन पीडामा केही भए पनि राहत पुर्‍याउन सकोस् भन्ने हाम्रो विश्वास छ।

सहयोग रकम पठाइएको प्रमाणस्वरूप अल अन्सारी एक्सचेन्जको स्लिपसमेत यसै पोस्टमार्फत सार्वजनिक गरिएको छ। संस्थाले गरेको सहयोगबारे आफ्ना सदस्य, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायलाई जानकारी गराउनु र आर्थिक सहयोगमा पारदर्शिता कायम गर्नु हाम्रो जिम्मेवारी हो।

विपद्को यस कठिन घडीमा मानवीय संवेदना, एकता, सहकार्य र जिम्मेवारी नै हाम्रो वास्तविक शक्ति हो। पीडितहरूको जीवनरक्षा, तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्स्थापनाका कार्यहरू प्रभावकारी, पारदर्शी र न्यायोचित रूपमा अघि बढून् भन्ने हार्दिक अपेक्षा गर्दछौँ।

हामी सम्पूर्ण देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि आफ्नो क्षमता र परिस्थितिअनुसार विपत्तिमा परेका नेपालीहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा साथ दिन हार्दिक अपिल गर्दछौँ।

आउनुहोस्, विपत्तिमा परेका नेपालीका लागि हामी जहाँ भए पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
किनकि विपत्तिमा हाम्रो सानो साथ पनि कसैका लागि ठूलो आशा बन्न सक्छ। 

मानवताको सेवामा, नेपालीको साथमा।

नुवाकोट सेवा समाज, यूएई
जय मानवता !

✍️नुवाकोट सेवा समाज युएई